मकवानपुरगढीमा सवारी दुर्घटना: दुई जनाको मृत्यु, १४ जना घाइते

मकवानपुरगढीमा सवारी दुर्घटना: दुई जनाको मृत्यु, १४ जना घाइते

मकवानपुर — मकवानपुरगढीमा बिहीबार राति गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०७२ नम्बरको ईभी गाडी मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथको खडक खण्डमा दुर्घटनामा परेको हो।

राति करिब १ बजे भएको उक्त दुर्घटनामा गाडी सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गाडीमा १६ जना सवार थिए।

दुर्घटनामा परी सर्लाही बागमती नगरपालिका–७ की १३ वर्षीया मानुसी मगरको घटनास्थल नजिकै खोल्सामा शव फेला परेको हो भने रौतहट दुर्गा भवानी गाउँपालिका–५ की ५० वर्षीया निलम देवी राउतको हेटौंडा अस्पतालमा उपचारका क्रममा बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्य १४ जना यात्रुहरू घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छैन भने केहीको अवस्था मध्यम रहेको छ। घाइतेहरूको हेटौंडास्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। चालक कमल बहादुर दर्लामी पनि सामान्य घाइते अवस्थामा प्रहरीको नियन्त्रणमा छन्।

घटनाका थप विवरण र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।