

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोसी प्रदेश इन्चार्ज तथा केन्द्रीय संगठन विभाग सदस्य ओमनाथ भण्डारीले पदबाट राजीनामा दिएका छन् ।
बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा आफूलाई जानकारी नदिई कोसी प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाइएको भन्दै भण्डारीले असहमति जनाउँदै संगठन विभागबाट राजीनामा दिएका हुन् ।
“यदि मसँग सामान्य सल्लाह लिइएको भए म निर्णय सहर्ष स्वीकार्थें,” भण्डारीले भने, “बरु म उहाँको प्रस्तावक नै बनिदिन्थें । तर, सल्लाहबिना गरिएका निर्णयले मलाई नैतिक संकटमा पारेको छ ।”
उनले पार्टी नेतृत्वमाथि मूल्य र मान्यता विपरीत निर्णय गरेको आरोप लगाउँदै आफू अब साधारण सदस्यका रूपमा मात्र रहने घोषणा गरेका छन् ।
भण्डारीले ‘एक पद एक व्यक्ति’ नीतिअनुसार निर्णय गरिएको हुनसक्ने बताएका छन्, तर त्यसबारे पूर्व जानकारी र संवाद आवश्यक रहेको धारणा राखेका छन् ।
“आजकै मितिबाट मैले सम्पूर्ण पदीय जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,” उनले स्पष्ट पारेका छन् ।