

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरूसँग कुरा गर्दै उक्त निर्णय सार्वजनिक गरेका हुन्।
अध्यक्ष लिङ्देनले सरकारले नागरिकको अधिकार संकुचित बनाउन खोजेकाले त्यसविरुद्ध निषेधित क्षेत्रमा नै प्रदर्शन गर्ने निर्णय गरिएको बताए। उनले भने, “सरकारले यदि दबाबको राजनीति गर्छ भने हामी शान्तिपूर्ण तर सशक्त ढंगमा प्रतिरोध गर्छौं, आवश्यकता परेमा म स्वयं गिरफ्तारी दिन तयार छु।”
बैठकले आन्दोलन र संगठनलाई एकसाथ अघि बढाउने निर्णय गर्दै वैशाख ९ गते देशभरका ७७ वटै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम गर्ने घोषणा गरेको छ। साथै, वैशाख २० भित्र पार्टी नेताहरूलाई निःशर्त रिहा नगरे आन्दोलन थप चर्काउने चेतावनी पनि दिएको छ।
राप्रपाले पार्टी नेताहरू रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायत चैत १५ गतेको प्रदर्शनमा पक्राउ परेका व्यक्तिहरूको रिहाइ तथा सो घटनाको न्यायिक छानबिनको माग गर्दै कानुनी र राजनीतिक संघर्षलाई अझ सशक्त बनाउने बताएको छ।
आन्दोलनलाई थप सशक्त र व्यवस्थापन गर्न राप्रपाले विशेष समिति गठन गर्ने र नेताहरूलाई गाउँगाउँ तथा वडास्तरसम्म परिचालन गर्ने योजना पनि अघि सारेको छ।