

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधहरूलाई माफी दिन नसकिने स्पष्ट रूपमा बताएका छन्।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय प्रक्रिया निष्कर्षमा पुर्याउने क्रममा पीडितले न्याय पाउने गरी आयोगहरूलाई कार्य सम्पादन गरिने बताएका हुन्।
उनले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगको गठन प्रक्रियामा अब ढिलाइ नहुने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले विगतमा अनावश्यक हिंसा र अराजकताका कारण मुलुक अशान्तिको भूमिमा परिणत भएको भन्दै अब लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँदै समाजलाई सहिष्णुता र स्थायित्वतर्फ लैजानुपर्नेमा जोड दिए।
‘हामी अधिनायकवाद परास्त गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेका छौं,’ उनले भने, ‘अब कुनै पनि बहकावमा लागेर हत्या, हिंसा, धार्मिक उक्साहट वा अराजक गतिविधि स्वीकार्य हुनेछैन।’
प्रधानमन्त्री ओलीले विविधतायुक्त समाजमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको खाँचो रहेको भन्दै एमाले त्यसको अग्रसरतामा रहेको दाबी पनि गरे।
त्यसै अवसरमा उनले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा एमालेले युवाहरूको सम्मेलन आयोजना गरी जनताको अधिकार र समृद्धिको पक्षमा उत्सव मनाउने जानकारी गराउँदै सबैलाई सहभागिताको लागि आह्वान गरे।