

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
रुपन्देहीमा बिहीबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले गभर्नर नियुक्तिमा राजनीतिक दलहरूबीच होइन, बिचौलियाहरूबीच टकरावका कारण प्रक्रिया अलमलिएको दाबी गरे। ‘गभर्नरको टुंगो बिचौलियाबीच नलागेकाले ढिलाइ भइरहेको हो,’ उनले भने, ‘दलहरूभन्दा बढी बिचौलिया सक्रिय छन्, कहिले कांग्रेस, कहिले एमालेसँग लागेका छन्।’ प्रचण्डले सरकारलाई मेरिटका आधारमा इमानदार र योग्य व्यक्तिलाई गभर्नर नियुक्त गर्न आग्रह गर्दै बिचौलियाको स्वार्थमा निर्णय नगर्न चेतावनी पनि दिए।
उनले अहिले इमानदार कर्मचारीहरूलाई प्रताडित गरेर भ्रष्ट र अयोग्यलाई प्राथमिकता दिने प्रवृत्ति हावी भएको आरोप लगाए। ‘सरकार बिचौलियाको निर्देशनमा चलिरहेको देखिन्छ,’ प्रचण्डले भने, ‘यो प्रवृत्ति गणतन्त्रका लागि समेत घातक छ।’
उनले सरकारलाई फेरि पनि सन्देश दिँदै भने, ‘इमानदार कर्मचारीको कदर गर, बिचौलियाको जालो काट।’