शिक्षकलाई आन्दोलन रोकेर काममा फर्कन सरकारको आह्वान

शिक्षकलाई आन्दोलन रोकेर काममा फर्कन सरकारको आह्वान

काठमाडौँ । सरकारले आन्दोलनमा रहेका शिक्षकहरूलाई आ–आफ्नो काममा फर्कन आह्वान गरेको छ।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पृथ्वीसुव्वा गुरुङले नेपाल शिक्षक महासंघले उठाएका मागप्रति सरकार संवेदनशील रहेको बताउँदै आन्दोलन स्थगन गर्न शिक्षकहरूलाई आग्रह गरेका हुन्।

प्रवक्ता गुरुङले संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक चाँडै पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको जानकारी दिए। “सरकार गम्भीर छ, शिक्षकहरूले पनि अब अडान छाड्नुपर्छ,” गुरुङले भने। उनले देशको वर्तमान आर्थिक अवस्था हेरेर शिक्षकसहित निजामती कर्मचारीको सेवा सुविधा वृद्धिको सम्भावनाबारे अध्ययन भइरहेको बताए।

शिक्षकहरूको मागअनुसार विद्यालय शिक्षा ऐनलाई फास्ट ट्र्याकबाट पारित गर्न सरकार अन्य राजनीतिक दलहरूसँग छलफल गरेर अघि बढ्ने तयारीमा रहेको पनि उनले स्पष्ट पारे।

यस्तै, मन्त्रिपरिषद्ले साना सिँचाइ कार्यक्रमका लागि स्वीट्जरल्यान्ड सरकारबाट १८ दशमलव ८ लाख स्वी फ्र्याङ्क थप अनुदान सहायता प्राप्त गर्ने निर्णय गरेको छ।