संवैधानिक निकायमा नियुक्तिविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

संवैधानिक निकायमा नियुक्तिविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

काठमाडौँ । ५२ संवैधानिक निकायमा भएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आज पुनः हेर्दाहेर्दैमा राखिएको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीश सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भएको मुद्दामा बहस नसकिएपछि आज पनि टुंगो लाग्न सकेन।

संवैधानिक नियुक्तिको प्रक्रियाविरुद्ध नियमित सुनुवाइ गत माघदेखि चलिरहेको छ। आजको चौथो दिनको सुनुवाइमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, अधिवक्ताहरू कीर्तिनाथ शर्मा, हर्कबहादुर रावललगायतले बहस गरेका थिए।

२०७७ मङ्सिर ३० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग, निर्वाचन आयोग लगायतका निकायमा पदाधिकारी सिफारिस गरिएको थियो। उक्त सिफारिस २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटनपछि मात्र सार्वजनिक गरिएको थियो।

यस सन्दर्भमा पदाधिकारी नियुक्तिको वैधानिकता र प्रक्रिया सम्बन्धी प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको हो।