यू–१९ एसिया छनोटमा नेपालको विजयी यात्रा कायम, हङकङ ९ विकेटले पराजित

यू–१९ एसिया छनोटमा नेपालको विजयी यात्रा कायम, हङकङ ९ विकेटले पराजित

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत तेस्रो खेलमा पनि प्रभावशाली प्रदर्शन गर्दै लगातार तेस्रो जित हात पारेको छ।

बुधबार भएको खेलमा हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १२.३ ओभरमा मात्र १ विकेट गुमाएर सहजै पूरा गर्‍यो। ओपनर साहिल पटेलले अविजित ४२ रन बनाउँदा कप्तान नरेन भट्टले ३९ रनको नटआउट इनिङ खेले। निरज यादवले २३ रनको योगदान दिए।

टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४६.२ ओभरमा ११५ रनमै समेटिएको थियो। हङकङका लागि शिव माथुरले ६३ रन बनाए। नेपालका युवराज खत्रीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने बिपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए।

यसअघि नेपालले पहिलो खेलमा युएईलाई ५ रनले र दोस्रो खेलमा ओमानलाई ८ विकेटले पराजित गरेको थियो। अब नेपालले समूह चरणको अन्तिम र सम्भावित निर्णायक खेल शनिबार अफगानिस्तानसँग खेल्नेछ।