

काठमाडौं । अघिल्लो दिन घटेको सुनको मूल्य बुधबार पुनः उकालो लागेको छ। आज एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले मूल्य बढ्दै सुनको भाउ नयाँ कीर्तिमानमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबारको मूल्य अनुसार सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि सोमबार १ लाख ८६ हजार रुपैयाँमा सुन कारोबार हुँदै उच्च रेकर्ड कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको तीव्र वृद्धि नेपाली बजारमा समेत प्रभाव पारिरहेको छ। त्यस्तै चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम गरिएको छ।
लगातारका उतारचढावबीच सुनमा देखिएको यो नयाँ मूल्यवृद्धिले बजारमा चहलपहल बढाएको छ भने उपभोक्तालाई केही दबाबसमेत सिर्जना गरेको छ।