निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री

निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्याको अनुसन्धानमा सम्बद्ध निकायहरू सक्रिय रहेको बताएका छन्। संसद्‍मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले वर्षौं बितिसक्दा पनि निर्मलाका हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्रीसँग प्रश्न उठाएकी थिइन्।

सांसद गौतमले गृहमन्त्री लेखकको गृह जिल्ला कञ्चनपुरमै यस्तो जघन्य अपराध भएको उल्लेख गर्दै, “निर्वाचन क्षेत्रमै यस्तो घटना हुँदा पनि तपाईं गृहमन्त्रीको हैसियतले किन निष्क्रिय?” भनेर सवाल राखेकी थिइन्।

उनको जिज्ञासामा जवाफ दिँदै गृहमन्त्री लेखकले भने, “गृह मन्त्रालय र त्यसअन्तर्गतका संयन्त्रहरू तथ्यमा आधारित भएर निष्पक्ष ढंगमा अनुसन्धान गरिरहेका छन्। सत्यतथ्य पत्ता लगाई पीडित परिवारलाई न्याय दिलाउने उद्देश्यसहित अनुसन्धान क्रियाशील छ।”

२०७५ साउन १० गते साथीको घरबाट हराएकी १३ वर्षीय किशोरी निर्मला पन्तको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो। अनुसन्धानका नाममा महँगो खर्चिए पनि अहिलेसम्म हत्याराको पहिचान हुन सकेको छैन। उल्टै सुरुवाती अनुसन्धानप्रति स्थानीयले गम्भीर प्रश्न उठाउँदै प्रहरीमाथि नै संलग्नताको आशंका गरेका थिए।

प्रहरीको भूमिकाविरुद्ध आन्दोलन हुँदा एक युवकको ज्यान समेत गएको थियो। तर, ६ वर्ष पुगिसक्दा पनि घटनाको वास्तविकता बाहिर आउन सकेको छैन। सांसद गौतमले सरकार यो विषयमा संवेदनशील नदेखिएको र न्याय दिलाउने जिम्मेवारीबाट पन्छिन खोजेको जस्तो आभास हुने बताएकी छन्।