देशले कंकर्डको गति लिनु पर्ने बेला सरकार ट्याक्टरझैँ चलिरहेको छ: गगन थापा

देशले कंकर्डको गति लिनु पर्ने बेला सरकार ट्याक्टरझैँ चलिरहेको छ: गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारलाई सफल बनाउन आफूले जोखिम उठाउन खोजे पनि मूल नेतृत्वमा आवश्यक उत्साह र गति नदेखिएको गुनासो गरेका छन्।

कांग्रेसनिकट बौद्धिक पेसाकर्मीहरूको कार्यक्रममा बोल्दै थापाले देशले तीव्र गतिमा अगाडि बढ्नुपर्ने बेला भएको भए पनि सरकार सुस्त गतिमा चलिरहेको टिप्पणी गरे। उनले देशको आवश्यकता ‘कंकर्ड’ (तीव्र गतिमा उड्ने विमान) जस्तो भए पनि सरकारको चालचहोल ‘ट्याक्टर’जस्तै भएको बताए।

“सरकारलाई सफल बनाउन सरकारमा नबसी पनि बाहिरबाट वॉर फुटिङमा काम गर्ने मनसाय राखेँ,” उनले भने, “इकोनोमिक फ्रन्टमा धेरै परिवर्तन गर्न सकिन्छ भन्ने विश्वासका साथ लागेको थिएँ। तर आवश्यक जाँगर र नतिजा नेतृत्वबाट देखिएन।”

तर उनले हालको सरकार वा सत्ता गठबन्धन परिवर्तन गर्नुपर्ने पक्षमा आफू नरहेको स्पष्ट गरे। “सरकार बदल्न होइन, सुधार गर्न र गति दिनुपर्ने आवश्यकता छ,” थापाले जोड दिए।

उनका अनुसार सरकारले हरेक दिन नयाँ निर्णय गर्दै देश अगाडि बढाउनुपर्ने हो, तर नेतृत्वमा त्यो खालको सक्रियता र जोश नदेखिएकोले निराशा बढेको हो।