

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको पुनरावेदन निवेदन न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी परेको छ।
गत शुक्रबार लामिछानेले आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए। उक्त निवेदन उनकी श्रीमती निकिता लामिछानेमार्फत दर्ता गरिएको थियो।
सो निवेदनमाथिको सुनुवाइ ढुंगानाको इजलासमा पहिलो नम्बरमा सूचीकृत भएको छ।
यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर सरकारी वकिल र लामिछाने दुबै पक्षले उक्त आदेशविरुद्ध उच्च अदालत बुटवलमा पुनरावेदन गरेका थिए।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको आदेश खारेज गर्दै लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो।
अदालती निर्णयपछि रवि लामिछानेले आफू निर्दोष रहेको भन्दै रगत सकिएसम्म लडाइँ जारी राख्ने घोषणा गरेका छन्।