

वीरगञ्ज । हनुमान जन्मोत्सवको अवसरमा शनिबार वीरगञ्जको छपकैयामा दुई समुदायबीच भएको झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृतसहित दर्जनौं घाइते भएका छन्।
ढुंगा हानाहानको क्रममा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना नेपाल प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरी बलका नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी पनि घाइते भएको पुष्टि भएको छ। मिश्रले आफ्नै दाहिने हातमा चोट लागेको जनाउँदै अन्य प्रहरीहरू गम्भीर घाइते भएको जानकारी दिए।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईँ पनि घाइते भएको जनाइएको छ। घटनामा सर्वसाधारण तर्फ पनि १२ जना घाइते भएका छन्।
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार, अस्पतालमा हालसम्म ४३ जनाको उपचार भइरहेको छ, जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारण सबै रहेका छन्। अधिकांश घाइतेको टाउको र छातीमा ढुंगा वा इँटा लागेका छन्।
यसैबीच, सूर्या अस्पतालका प्रमुख सरोज सिंहले नायब उपरीक्षक सिंहसहितका केहीको उपचार भइरहेको र एक जनाको खुट्टा भाँचिएको जनाएका छन्।
झडपपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार बेलुकादेखि आइतबार बिहान १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।