

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई लक्षित गरी भइरहेको ‘१७ हजारको हत्यारा’ भन्ने प्रचारबारे पार्टी र बौद्धिक वर्गबाट खण्डन नआएकोप्रति गुनासो गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले युद्धको क्रममा भएको घटनालाई एकपक्षीय रूपमा आफूमाथि दोषारोपण गरिएको भन्दै आपत्ति जनाए। “मैले अहिलेसम्म एक जनालाई पनि पिटेको छैन, हत्याको त कुरै छाडौं,” प्रचण्डले भने, “युद्धको नेतृत्व मैले गरेको हो, शान्तिमा आएसँगै सबै जिम्मेवारी लिने तयारी पनि देखाएको छु। तर, झुटा आरोप लागिरहँदा खण्डन गर्ने कोही छैन।”
उनले सेना समायोजन र हतियार व्यवस्थापनमा माओवादी केन्द्रले सबैभन्दा बढी जोखिम उठाएको उल्लेख गरे। “आजको दिनमै हतियार व्यवस्थापन गर्नुपर्छ भन्ने दबाब माओवादी केन्द्रले नै दियो,” उनले स्मरण गरे।
प्रचण्डले नेपाली समाजका केही वर्गले माओवादी आन्दोलनले ल्याएको परिवर्तनलाई स्वीकार गर्न नचाहेको आरोप पनि लगाए। “बरु उल्टो, हामीमाथि ‘१७ हजारको हत्यारा’ भन्ने गलत नेरेटिभ निर्माण गर्न सक्रिय प्रयास भइरहेको छ,” उनले भने, “बुद्धिजीवी साथीहरूलाई यस विषयमा गम्भीर भएर सोच्न र बोल्न अपिल गर्दछु।”