

काठमाडौँ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि स्थगित भएको छ। तयारी अभावका कारण अब जेठमा पनि प्रतियोगिता हुन नसक्ने भएको हो।
शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकमा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिता जेठमा पनि नगर्ने निर्णय सुनाएका हुन्।
यसअघि दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ सालमै सम्पन्न गर्ने योजना थियो। कर्णाली प्रदेशलाई आयोजक तोकी असोजमा आयोजना गर्ने भनिए पनि तयारी नपुगेपछि चैत २३–३० गतेसम्म सारिएको थियो। तर चैतमा पनि तयारी नभएपछि जेठ ३–१० गतेसम्मको मिति तोकिएको थियो।
तर अहिले तेस्रो पटक तोकिएको मितिमा पनि प्रतियोगिता हुन नसक्ने निर्णय भएपछि दसौँ संस्करण पुनः अनिश्चित बनेको छ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा २०७९ सालमा सम्पन्न भएको थियो। त्यसयता नयाँ संस्करण पटक–पटक मिति सरेर स्थगित हुँदै आएको छ।