

नुवाकोट, शिवपुरी । थानापति मन्दिर, शिवपुरी नुवाकोटमा एक भव्य सामाजिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा समाजसेवामा योगदान पुर्याएका २०० जना वृद्धवृद्धालाई सम्मान गरिएको छ भने आगामी वर्षको स्मृति क्यालेन्डर पनि सार्वजनिक गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलिया थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा वीर बहादुर तामाङ, वडा अध्यक्ष केशव रिजाल तथा निवर्तमान अध्यक्ष होमनाथ थपलियाको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व केदारनाथ पाठकले गरेका थिए।
समाजले आयोजना गरेको कार्यक्रममा ४०० भन्दा बढी स्थानीयको उपस्थित रहेको थियो भने समाजमा हालसम्म ४०० भन्दा बढी आजीवन सदस्य रहेको जानकारी आयोजकले दिएका छन्।
कार्यक्रममा बोल्ने वक्ताहरूले थानापति मन्दिर क्षेत्र, लौके झरना, घट्टेदेवी मन्दिर, कुम्भेश्वर लगायतका स्थलहरूमा रहेको पर्यटन सम्भावनाको चर्चा गर्दै यसको प्रचारप्रसार र पूर्वाधार विकासमा स्थानीय सरकार र समुदायको सहकार्य आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रमले धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध झन् सुदृढ बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
