

काठमाडौं । तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई १२ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले आज दुवैजनालाई प्रहरी अनुसन्धानका लागि १२ दिनको म्याद प्रदान गरेको हो। यसअघि प्रहरीले उनीहरूलाई कम्तीमा १२ दिन हिरासतमा राख्न माग गर्दै अदालतमा निवेदन दिएको थियो।
तीनकुनेमा चैत १५ गते राजावादी समूहद्वारा गरिएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो भने सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेको थियो। प्रसाईं भारतबाट पक्राउ परेर आजै काठमाडौं ल्याइएका हुन्।
उक्त घटनासँग सम्बन्धित राप्रपाका नेताहरू रविन्द्र मिश्र र धवलशमशेर जबरालाई यसअघि १५ दिन हिरासतमा राख्ने अनुमति दिइएको थियो। प्रहरीका अनुसार अनुसन्धान प्रक्रियामा समन्वय मिलाउन प्रसाईं र खड्काको म्याद पनि त्यसअनुसार माग गरिएको हो।