बन्दरगाह प्रयोगमा भारतसँगको परनिर्भरता अन्त्य : मन्त्री यादव

बन्दरगाह प्रयोगमा भारतसँगको परनिर्भरता अन्त्य : मन्त्री यादव

काठमाडाैँ, २२ भदाै । चीनको भूमि भएर तेस्रो मुलुकसँगको आयात तथा निर्यात खुला हुने भएको छ । नेपाल र चीनबीच सन् २०१६ मा सम्पन्न भएको पारवहन सम्झौताको प्रोटोकलले अन्तिम रुप पाएसँगै नेपालले चीनबाट पनि समुद्रसँग पहुँच पाएको हो । भूपरिवेष्ठित मुलुक नेपालले तेस्रो मुलुकसँगको व्यापारमा चीनका बन्दरगाह प्रयोग गर्न पाउने सुनिश्चित भएसँगै मुलुकको पारवहन यातायातमा विविधिकरण भएको छ ।

२ वर्षअघि भएको पारवहन सम्झौताको प्रोटोकलको तेस्रो बैठकले नेपालले चीनका सबै खुला सामुद्रिक बन्दरगाह र सबै खुला सुख्खा बन्दरगाह प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो । त्यसमध्ये हालको लागि नेपालले चारवटा सामुद्रिक र तीनवटा सुख्खा बन्दरगाह प्रयोग गर्न सक्नेछ । चीनसँगको यो प्रोटोकल तयार भएसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले नेपालका लागि दुनियाँसँगको व्यापार हुने दोस्रो बाटो सिर्जना भएको दाबी गरेका छन् ।

प्रोटोकल तयार भएसँगै हालका लागि प्रयोग गर्न सकिने सामुद्रिक बन्दरगाहमा तियान्जेन, सेनजेन, लियानयुंगाङ र झाङजियाङ तथा सुख्खा बन्दरगाहमा लान्जाओ, ल्हासा र सिगात्से रहेका छन् । हिजो विहीबार साँझ अबेर गरी तयार भएको प्रोटोकलमा विधिवत रुपमा उच्चस्तरीय द्विपक्षिय हस्ताक्षरबाट औपचारिकता दिइने बताइएको छ ।

नेपालले पारवहनका लागि नेपालका ६ वटा नाकामार्फत पारवहन गर्न सकिने सहमति भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालतर्फको रसुवा, कोदारी, किमाथान्का, नेचुङ, यारी र ओलाङचुंगोलामार्फत पावहन ढुवानी गर्न सकिने भएको छ । चीनियाँ बन्दरगाहबाट सबैभन्दा उपयुक्त र किफायति मार्ग प्रयोग गरी नेपालको कार्गो ढुवानी गर्न सकिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०१६ मा चीन भ्रमणका बेला पारवहन सम्झौता गरेका थिए । पहिलोपटक ल्हासामा प्रोटोकलको फ्रेमवर्क तयार गरिएको थियो भने गत असारमा प्रधानमन्त्री ओली चीन भ्रमणमा रहँदा असोजभित्र प्रोटोकल तयार पार्ने सहमति भएको थियो । यससँगै तेस्रो मुलुकबाट हुने आयातका लागि भारतीय बन्दरगाहमाथि परनिर्भरता अन्त्य भएको छ ।