रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता भएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशपछि उनलाई सोही रात बूढानीलकण्ठबाट पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको थियो।

रास्वपाका अनुसार उच्च अदालतको आदेश जिल्ला अदालतमा नपुग्दै रातारात लामिछानेलाई नियन्त्रणमा लिइएको र प्रक्रिया नपुगी गैरकानुनी रूपमा पक्राउ गरिएको आरोप लगाइएको छ। लामिछानेलाई एक दिन काठमाडौं र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो।

यसअघि रास्वपाले प्रहरी ज्यादती र मानव अधिकार हनन भएको भन्दै बुधबार राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन पनि बुझाएको छ।