गृहमन्त्री लेखकको टिप्पणी : तीनकुनेको हिंसात्मक प्रदर्शन संविधान च्यात्ने प्रयास हो

गृहमन्त्री लेखकको टिप्पणी : तीनकुनेको हिंसात्मक प्रदर्शन संविधान च्यात्ने प्रयास हो

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनलाई संविधान र लोकतान्त्रिक व्यवस्थाविरुद्धको गम्भीर चुनौतीका रूपमा व्याख्या गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले उक्त प्रदर्शन केवल असन्तुष्टि होइन, बरु “संविधान च्यात्ने र व्यवस्था मास्ने” योजनाबद्ध प्रयास भएको दाबी गरे।

उनले भने, “तीनकुनेमा जुन घटना भयो, त्यो केवल आन्दोलन थिएन, त्यो संविधान च्यात्ने, लोकतान्त्रिक व्यवस्थाविरुद्धको सुनियोजित हमला थियो।” राजसंस्था पुनर्स्थापनाको मागसहित राप्रपाका नेताहरूको उपस्थिति रहेको उक्त प्रदर्शन हिंसात्मक बन्दै जाँदा दुईजनाको ज्यान गएको थियो भने सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटसमेत भएको थियो।

गृहमन्त्री लेखकले लोकतान्त्रिक व्यवस्थामा असन्तुष्टि राख्ने अधिकार सबैलाई भए पनि त्यसको अभिव्यक्ति हिंसा र तोडफोडमार्फत गर्न पाइँदैन भन्ने स्पष्ट पारे। उनले भने, “लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन सक्दैन। संविधानभित्र रहेर सबै कुरा सम्भव छन्।”

तीनकुने घटनाका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईं र राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरासहितका नेताहरूमाथि अनुसन्धान अगाडि बढिरहेको गृहमन्त्रीले जानकारी गराएका छन्।