“राजा फर्किए देश बरबाद हुन्छ” : अध्यक्ष माधव नेपाल

“राजा फर्किए देश बरबाद हुन्छ” : अध्यक्ष माधव नेपाल

रौतहट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजसंस्थाको पुनःस्थापनाले देशलाई विनाशतर्फ लैजाने चेतावनी दिएका छन्।

रौतहटको गरुडामा बिहीबार आयोजित पार्टीको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले राजावादीहरूले चैत १५ मा तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक र विध्वंसात्मक रहेको आरोप लगाए।

“राजावादीहरूले पार्टी कार्यालय तोडफोड, पसल लुटपाट, आगजनी, मान्छे कुटपिट र सार्वजनिक सम्पत्तिमा तोडफोड गरे,” उनले भने, “यस्ता कार्यहरूले देश बरबाद हुन्छ। अब राजामहाराजाको कुनै काम छैन, देशको मालिक जनता नै हुन्।”

उनले लोकतन्त्र र समाजवादको मार्गलाई अगाडि बढाउन सबै नागरिक र पार्टी कार्यकर्तालाई आह्वान गरे।

अध्यक्ष नेपालले आफ्ना पार्टीको काठमाडौंमा सम्पन्न समाजवादी मोर्चाको आमसभा शान्तिपूर्ण भएको दाबीसमेत गरे।

कार्यक्रममा नेता राजेन्द्र पाण्डे, रामकुमार भट्टराईलगायतको उपस्थिति रहेको थियो। अध्यक्ष नेपालले अधिवेशनलाई सफल पार्दै जिल्लामा संगठन सुदृढ गर्न नयाँ नेतृत्व चुन्ने आग्रहसमेत गरे।