

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच बिहीबार साँझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता कुनै निष्कर्ष ननिकाली टुङ्गिएको छ।
शिक्षामन्त्री बिद्या भट्टराई, मन्त्रालयका सचिव डा. दीपक काफ्ले लगायतको टोली र शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोलीबीच संवाद भएको हो।
शिक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवहरी सापकोटाका अनुसार, वार्ता औपचारिक रूपमा सुरु भए पनि कुनै ठोस सहमति भएको छैन। उनले भने, “आजदेखि वार्ता प्रक्रिया सुरु भएको हो। मन्त्रीज्यूले शिक्षकको माग सम्बोधन गर्न पहल भइरहेको जानकारी दिनुभयो।”
उनका अनुसार वार्ता अझै पनि खुला रहेको र आगामी दिनमा निरन्तरता दिइनेछ। आन्दोलनरत शिक्षकहरूले पेश गरेका मागहरूमा सरकार गम्भीर रहेको जनाइएको छ, तर सहमतिको बिन्दुमा पुग्न अझै समय लाग्ने देखिन्छ।