

काठमाडौं : ओपनर कुशल भुर्तेलको विस्फोटक ब्याटिङ र दीपेन्द्र सिंह ऐरीको आक्रामक इनिङको सहारामा नेपालले चारदेशीय टी–२० सिरिजमा कुवेतलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको छ। यस जितसँगै नेपाल फाइनल नजिक पुगेको छ।
बिहीबार बिहान सम्पन्न खेलमा कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको थियो।
कुवेतविरुद्ध नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले सानदार प्रदर्शन गरे। दुबैजनाले पहिलो विकेटका लागि १२७ रनको साझेदारी गरे। आसिफले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रन बनाए। कुशलले ५० बलमा ८१ रन जोड्दा ६ चौका र ६ छक्का प्रहार गरे।
यी दुई आउट भएपछि केही दबाबमा परेको नेपाललाई दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रन (३ छक्का, २ चौका) जोड्दै जितसम्म पुर्याए। गुलशन झा (९ रन) र रोहित पौडेल (५ रन) नटआउट रहे।
टस जितेर बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो। ओपनर रविजा सान्दारुवानले १५ बलमा २६ रन, क्लिन्टो एन्टोले ३० बलमा ४१ रन, मित भावसरले २८ बलमा ३५ रन र बिलाल ताहिरले १३ बलमा ३२ रन बनाए।
नेपालका लागि सोमपाल कामीले ३, नन्दन यादवले २, ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिए। फिल्डिङ पक्ष केही कमजोर देखिए पनि नेपाली बलरहरूले समयमै विकेट निकाल्दै कुवेतलाई ठूलो स्कोरबाट रोक्न सके।
अब नेपालका २ खेलमा ४ अंक छन्। कुवेतको २ अंक रहेको छ। आज हुने दोस्रो खेलमा आयोजक हङकङले कतारसँग प्रतिस्पर्धा गर्दैछ। लिग चरणको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्।