

काठमाडौं : शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षक महासंघले वार्ता, संवाद र आन्दोलनलाई एकसाथ अघि बढाउने रणनीति लिएको छ। बुधबार शिक्षा सचिवले छलफलका लागि पत्र पठाएपछि महासंघको टोली आज सरकारसँग संवादमा बस्न लागेको हो। यद्यपि वार्ताको समय र स्थान भने दुबै पक्षको सहमतिपछि तय गरिने बताइएको छ।
महासंघले संवादलाई सकारात्मक रूपमा लिँदै ऐन जारी गर्ने स्पष्ट सुनिश्चितता बिना वार्ताले कुनै सार नहुने स्पष्ट पारेको छ। महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “संवाद र आन्दोलन सँगसँगै जान्छ। हामी वार्ता विरोधी होइनौं, तर केवल भाकाका लागि वार्ता गर्दैनौं। ऐन जारी हुने पक्का हुनुपर्छ।”
महासंघले सरकारले शिक्षा ऐन ल्याउन तीनवटा विकल्प प्रस्ताव गरेको छ – संसदको विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन अघि सार्ने वा अध्यादेशमार्फत ऐन ल्याउने। आजको संवादमा महासंघले यिनै प्रस्तावहरूमाथि जोड दिने तयारी गरेको छ।
अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई यथावत् जारी राख्न आह्वान गर्दै भने, “सत्ता सञ्चालकहरू पेशागत आन्दोलनलाई बोझ ठान्छन्, निषेध गर्न खोज्छन्। हामी त्यस्तो सोच र व्यवहारविरुद्ध लडिरहेका छौं।” उनले आन्दोलनकारी शिक्षक-कर्मचारीहरूलाई प्रायोजित हल्ला र षड्यन्त्रप्रति विश्वास नगरी आन्दोलनको मोर्चामा दृढताका साथ उभिन आग्रह गरे।
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू २० चैतदेखि काठमाडौंमा आन्दोलनरत छन्।