

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरणको विवरण पठाउने म्याद थप गरेको छ। प्रारम्भिक रूपमा चैत मसान्तसम्म तोकिएको म्यादमा केही जिल्लाहरूमा सदस्यता विवाद नटुंगिएपछि १५ दिनको समय थप गरिएको हो।
महामन्त्री गगनकुमार थापा नेतृत्वको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले सबै तहका संगठनहरूलाई आगामी २०८२ वैशाख १५ गतेभित्र विवरण पठाउन परिपत्र जारी गरेको छ।
यसअघि माघ ३ गते समितिले सदस्यता नवीकरणका लागि समय तालिका सार्वजनिक गरेको थियो।
पार्टी नियमावली २०७६ को नियम ४(३) अनुसार नवीकरण भएका सदस्यहरूको विवरण एक्सल सिटमा तयार गरी नाम र सदस्यता नम्बरसहित पठाउन भनिएको छ। नवीकरण शुल्क एकमुष्ट २०० रुपैयाँ तोकिएको छ, जसअनुसार वडा, पालिका, क्षेत्र र जिल्ला तहमा ५० रुपैयाँ रहनेछ भने बाँकी १५० रुपैयाँ ‘नेपाली कांग्रेस केन्द्रीय कार्यालय’को नाममा राष्ट्रिय वाणिज्य बैंक टेकु शाखाको खाता नं. १७००१००००७१४६०१० मा जम्मा गर्न निर्देशन दिइएको छ।
नवीकरण शुल्कको भौचरसहित विवरण अनिवार्य रूपमा वैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन पार्टीले आग्रह गरेको छ।