विदेशी विनिमय सञ्चिति आठ महिनामा १८ प्रतिशतले वृद्धि, २४ खर्ब नाघ्यो

विदेशी विनिमय सञ्चिति आठ महिनामा १८ प्रतिशतले वृद्धि, २४ खर्ब नाघ्यो

काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा नेपालको विदेशी विनिमय सञ्चिति उल्लेख्यरूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेर २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको अन्त्य असार मसान्तमा यो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो। अमेरिकी डलरमा हेर्दा सञ्चिति १३.१ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड डलर पुगेको छ, जुन गत असारमा १५ अर्ब २७ करोड डलर थियो।

फागुन मसान्तसम्म विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा वर्तमान विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात तथा १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको छ।

त्यस्तै, फागुन मसान्तसम्म विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४२.२ प्रतिशत, कुल आयातको ११९.४ प्रतिशत र विस्तृत मुद्राप्रदायको ३३.० प्रतिशत बराबर पुगेको राष्ट्र बैंकले जनाएको छ।