मसानघाट पुगेको राजतन्त्र फर्कन्न : रामकुमारी झाँक्री

मसानघाट पुगेको राजतन्त्र फर्कन्न : रामकुमारी झाँक्री

प्युठान : नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले दुई दशकअघि मसानघाट पुगेको राजतन्त्र अब फर्कन नसक्ने स्पष्ट पारेकी छन्।

प्युठानमा आयोजित पार्टीको १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले राजतन्त्र पुनःस्थापनाको पक्षमा सडकमा देखिएको चहलपहल राजनीतिक दलहरूकै कमजोरीको उपज भएको बताइन्।

झाँक्रीले राजनीतिक दलका नेताहरूले आफ्नो कमजोरी स्वीकार गर्दै सुधार नगरे समृद्ध लोकतन्त्रको सपना धराशायी हुने चेतावनी दिइन्। “हामीसँग दुई विकल्प छन् — सुध्रिने वा सक्किने,” उनले भनिन्, “परिवर्तन ल्याउने नेताहरू नै समयसापेक्ष चल्न सकेनन् भने जनताले सडकमा चड्कन हान्न सक्छन्।”

उनले राजनीतिक दलका नेताहरू नसुध्रिए आगामी निर्वाचनमा आफ्नै कार्यकर्ताहरू स्वतन्त्र उम्मेदवार बनेर प्रतिस्पर्धामा उत्रने अवस्था आउन सक्ने पनि बताइन्।

झाँक्रीको भनाइमा, अबको समय आत्मसमीक्षा र सुधारको हो, नत्र जनताको विश्वास गुमाएर लोकतान्त्रिक शक्तिहरू पराजित हुनेछन्।