

चितवन । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्रमा सडक मर्मत तथा विस्तारको कार्यका लागि आज चैत २७ गतेदेखि अत्यावश्यक बाहेकका सवारी साधनको आवागमन बन्द गरिने भएको छ।
सडक आयोजनाले चैत २७ देखि ३१ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार घण्टा सडक बन्द गर्ने जनाएको छ। त्यसपछि वैशाख १ गतेदेखि १५ गतेसम्म प्रत्येक रात ११ बजेदेखि बिहान ५ बजेसम्म छ घण्टा सडक बन्द गरिनेछ। यद्यपि, एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी लगायतका अत्यावश्यक सेवाका सवारीमा भने रोक लाग्ने छैन।
पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बर्खा सुरु हुनु अघि नै यात्रा सहज बनाउन दाउन्नेमा भित्ता काट्ने, पर्खाल निर्माण र कल्भर्ट जडान जस्ता कामलाई तीव्रता दिन सडक बन्दको निर्णय गरिएको बताए।
साँघुरो सडक र निर्माण कार्यका कारण यात्रुहरू अहिले पनि दैनिक जाममा परिरहेका छन्। १३ किलोमिटरको दाउन्ने खण्ड पार गर्न अहिले ५–६ घण्टा लाग्ने अवस्था छ।
सडक बन्दबारे निर्णय गर्न पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीहरुसहितको बैठक बसेको र ठेकेदार कम्पनीले रातको समयमा उज्यालोको व्यवस्था गरी निर्माण कार्य अघि बढाउने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए। यात्रुहरूलाई बन्द अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।