

काठमाडौं । नेपालले कतारमाथि आठ विकेटको सहज जित निकाल्दै चारदेशीय टी–२० क्रिकेट सिरिजमा विजयी सुरुवात गरेको छ। बुधबार सम्पन्न पहिलो खेलमा नेपालले कतारले दिएको १५२ रनको लक्ष्य १७ ओभरमै दुई विकेट गुमाउँदै पूरा गर्दै दुई अंक बटुलेको हो।
ओपनर कुशल भुर्तेलले १९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाए भने अर्का ओपनर आसिफ शेखले २१ बलमा ३३ रन जोडे। यी दुईले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाए। कप्तान रोहितकुमार पौडेल (३७) र बसीर अहमद (३०) अविजित रहँदै नेपाललाई जित दिलाए।
कतारका लागि मुजीब–उल–रहमानले दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। कप्तान इक्रामुल्लाह खानले ५४ बलमा ५ चौका र २ छक्कासहित ५४ रन जोडे। शाहजैब जमिलले ३१, मुजीब–उल–रहमानले २० र मोहम्मद इर्शादले १८ रन बनाउँदै योगदान दिए।
नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सनकुमार झा र ललितनारायण राजवंशीले समान एक–एक विकेट लिए।
नेपालले अब बिहीबार कुवेतविरुद्ध दोस्रो खेल खेल्नेछ।