तीनकुने प्रदर्शनमा मारिएकाहरूको परिवारलाई भाटभटेनीबाट आर्थिक सहयोग

तीनकुने प्रदर्शनमा मारिएकाहरूको परिवारलाई भाटभटेनीबाट आर्थिक सहयोग

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहद्वारा गरिएको अराजक प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई जनाको परिवारलाई भाटभटेनी सुपरमार्केट्सले नगद सहयोग प्रदान गरेको छ।

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मिनबहादुर गुरुङले मंगलबार बिहान मृतक परिवारलाई चेक हस्तान्तरण गरेका हुन्। पत्रकार सुरेश रजककी श्रीमती सुजेन रजकलाई ताहाचलस्थित निवासमा पुगेर पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।

त्यसैगरी, कीर्तिपुरका सविन महर्जनको निवासमै पुगेर उनकी पत्नी भविसा महर्जनलाई तीन लाख रुपैयाँको चेक प्रदान गरिएको छ।

चेक हस्तान्तरणका क्रममा गुरुङले प्रदर्शनको दिन भाटभटेनी स्टोरमा पनि क्षति पुगेको स्मरण गर्दै, दुःखको समयमा परिवारसँग सहानुभूति प्रकट गर्न उपस्थित भएको बताएका थिए। साथै, महर्जन परिवारको आग्रहअनुसार मृतक सविनकी श्रीमतीलाई भाटभटेनीमा रोजगारीको व्यवस्था गरिने आश्वासन पनि दिएका छन्।