रूपन्देहीमा पिकअप भ्यान दुर्घटना : एक बालिकासहित २ को मृत्यु, २२ घाइते

रूपन्देहीमा पिकअप भ्यान दुर्घटना : एक बालिकासहित २ को मृत्यु, २२ घाइते

लुम्बिनी । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

सोमबार साँझ लु १ च २७६३ नम्बरको पिकअप भ्यान शिवगढिया मोडमा अनियन्त्रित भई पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पतालमा र १९ जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ।

प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा रहेको भ्यान मोडमा पुगेर अनियन्त्रित भई पल्टिएको थियो। यात्रुहरू मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर फर्किंदै थिए।

दुर्घटनापछि सवारी चालक कपिलवस्तु शुद्धोधन गाउँपालिका–४ बिठुवा निवासी २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार सामान बोक्ने पिकअप भ्यानमा क्षमताभन्दा बढी यात्रु सवार भएका कारण भारवहन क्षमताले नधानेर दुर्घटना भएको हो।