राजावादी आन्दोलनमा भारतको समर्थन छैन : देउवा

राजावादी आन्दोलनमा भारतको समर्थन छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा चलिरहेको राजावादी आन्दोलनमा भारतको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

गणेशमान सिंह फाउन्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याउनुभएको योगदान’ विषयक गोष्ठीमा बोल्दै देउवाले भारतीय नेताहरु नेपालको संविधान र गणतान्त्रिक व्यवस्थाको पक्षमा रहेको बताएका हुन्।

“योगी आदित्यनाथको फोटो राजावादी प्रदर्शनमा देखिए पनि उनले दिल्लीस्थित नेपाली दूतावासमा गएर स्पष्ट रूपमा नेपालको गणतन्त्रप्रति समर्थन रहेको र आफू कुनै पनि व्यवस्थाविरोधी गतिविधिमा संलग्न नरहेको बताएका छन्,” देउवाले जानकारी दिए।

सभापति देउवाले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, प्रगाढ र सुसंवादयुक्त रहेको उल्लेख गर्दै दुई देशबीच समस्या भए वार्तामार्फत समाधान गर्न सकिने धारणा राखे। उनले प्रधानमन्त्री ओलीको भारत भ्रमण चाँडै हुन सक्ने संकेत गर्दै त्यसले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै दलले मिलेर काम गर्नुपर्ने बताए। जनताको असन्तुष्टि भड्काउने कार्य अनुचित भएको उल्लेख गर्दै उनले आलोचना लोकतन्त्रको स्वाभाविक अंश भएको बताए।

दुवै नेताले भारत र नेपालको लोकतान्त्रिक मूल्य र साझा हितका आधारमा आपसी सम्बन्ध सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गरे।