

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई सरकारले कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको छ।
चैत २२ गतेको निर्णयअनुसार उनलाई कार्यवाहक गभर्नर तोकिएको पत्र आज मात्रै राष्ट्र बैंकमा पुगेको हो। बैंकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार अर्थ मन्त्रालयबाट नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी दिएका हुन्।
यसैबीच, आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ, जहाँ नयाँ गभर्नरको नियुक्तिको सम्भावना पनि देखिएको छ। यद्यपि, एक मन्त्रीका अनुसार अहिलेसम्म गभर्नर नियुक्तिको एजेण्डा औपचारिक रूपमा प्राप्त भइसकेको छैन।
क्याबिनेट बैठक अघि नै सिफारिस समितिले तीन जनाको नाम समावेश गरी सिफारिस गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ।