राज्यबाट सुरक्षा नपाउँदा चैत्र १५ को घटनामा क्षति भयो : माधव नेपाल

राज्यबाट सुरक्षा नपाउँदा चैत्र १५ को घटनामा क्षति भयो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले चैत्र १५ गते पार्टी कार्यालयमा भएको आगजनी र तोडफोडको घटनामा राज्यले पर्याप्त सुरक्षा नदिएको आरोप लगाएका छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)को बागमती प्रदेश भेलाको उद्घाटन गर्दै अध्यक्ष नेपालले कांग्रेस र एमालेको पार्टी कार्यालयमा सुरक्षाकर्मी तैनाथ भए पनि आफ्नाे पार्टी कार्यालयलाई राज्यले बेवास्ता गरेको बताए।

“राज्यको तर्फबाट सुरक्षाको ग्यारेन्टी नभएका कारण हाम्रो कार्यालयमा तोडफोड, आगजनी मात्र होइन, कम्प्युटर, मोबाइल र फाइलसमेत चोरी भयो,” अध्यक्ष नेपालले भने। उनले चैत्र १५ गतेको घटनामा संलग्न सबैले जिम्मेवारी लिनुपर्ने र सरकारले दोषीमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिए। साथै, क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग गरे।

राजतन्त्र पुनःस्थापना गर्ने उद्देश्य बोकेका अराजक समूहहरूबाट जनताको हित हुन नसक्ने उल्लेख गर्दै उनले यस्तो प्रयास सफल नहुने स्पष्ट पारे।