

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाललाई विविध संस्कृति र प्रकृतिले भरिएको खुला संग्रहालयका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
आइतबार ललितपुरको पाटन दरबार क्षेत्रस्थित पुनर्निर्माण सम्पन्न देगुतलेजु मन्दिरको समुद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले नेपालको हिमाल, पहाड, तराई, जडीबुटी, ताल, झरना र वनजंगलले भरिएको प्राकृतिक सौन्दर्यलाई विश्वसामु चिनाउन जरुरी रहेको बताए।
उनले भूगोल, जातीय र भाषिक विविधता, चाडपर्व, भेषभूषा र परिकार जस्ता अभौतिक सम्पदाको संरक्षण गर्दै तिनको प्रचारमार्फत नेपाललाई सांस्कृतिक र प्राकृतिक गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरे।
“नेपाल केवल भौतिक सम्पदामै सीमित छैन, अभौतिक सम्पदाहरू—भाषा, भेषभूषा, पर्व र जीवनशैली पनि पर्यटकका लागि आकर्षण हुन्,” मन्त्री पाण्डेले भने, “स्थानीय तहबाट संरक्षण र विश्वस्तरमा प्रचार गर्न सके पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ।”
उनले विविधतामा एकता देखाउने नेपाललाई पर्यटनमार्फत विश्वसामु चिनाउने ऐतिहासिक अवसर अहिलेको पुस्ताले उपयोग गर्नुपर्ने समय आएको उल्लेख गरे।