विद्यालय शिक्षा ऐनको मागमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरूको सिटी जुलुस

विद्यालय शिक्षा ऐनको मागमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरूको सिटी जुलुस

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा अनिश्चितकालीन आन्दोलनमा रहेका शिक्षकहरूले आज सिटी जुलुस प्रदर्शन गरेका छन्। माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म निकालिएको सिटी जुलुस आन्दोलनको पाँचौं दिनमा गरिएको हो।

नेपाल शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनलाई सशक्त बनाउन शिक्षकहरूले र्‍यालीको क्रममा सिठ्ठी फुकेर सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले शिक्षा ऐनमा आफ्ना माग सम्बोधन नभए चैत २५ गतेदेखि देशभरका विद्यालय बन्द गरेर आम शैक्षिक हड्ताल गर्ने घोषणा पनि गरेका छन्।

महासंघले विद्यालय कर्मचारीमैत्री शिक्षा ऐन आवश्यक भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउँदै चैत २५ देखि काठमाडौं केन्द्रित निर्णायक चरणमा लैजाने तयारी गरेको जनाएको छ। यसका लागि देशभरका शिक्षक र विद्यालय कर्मचारीलाई काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरिएको छ।