

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक प्रक्रियाबाट जनमत प्राप्त गरेरै व्यवस्था परिवर्तन गर्न चुनौती दिएका छन्। झापाको मेचीनगर–धुलाबारीमा आज आयोजित कांग्रेसको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पूर्वराजालाई “श्रीपेच चुनाव चिन्ह” लिएर आगामी २०८४ सालको चुनावमा प्रतिस्पर्धा गर्न आह्वान गरे।
शर्माले भने, “तपाईंलाई आफूसँग जनता छन् भन्ने लाग्छ भने लोकतान्त्रिक बाटो समात्नुस्। चुनावमा श्रीपेच चिन्ह लिएर जानुस्, दुई तिहाइ ल्याएर संविधान संशोधन गरेर व्यवस्था परिवर्तन गर्नुस्। अन्यथा, देशलाई अराजकतातिर लैजाने कुनैपनि प्रयास स्वीकार्य छैन।”
उनले संविधानसभाले विधिवत रूपमा गणतन्त्र घोषणा गरिसकेको भन्दै सडक प्रदर्शन र भीड देखाएर त्यसलाई उल्ट्याउन नसकिने स्पष्ट पारे।
“संविधान संशोधन विधिसम्मत ढंगबाट मात्र सम्भव छ,” शर्माले भने, “राजाको पालामा जस्तो अब हुकुममा संविधान परिवर्तन हुँदैन। आज जनताले वंश होइन, कर्म हेरेर नेता चुन्छन्।”
उनको भनाइमा, लोकतन्त्रमा जनताको भरोसा जित्न चुनावी प्रतिस्पर्धा गर्नुपर्छ, भीड देखाएर जनमतको भ्रम सिर्जना गर्नु संविधानको अपमान हो।