नारायणगढ–बुटवल सडक: पूर्वी खण्डमा २९ वटा पुल निर्माण

नारायणगढ–बुटवल सडक: पूर्वी खण्डमा २९ वटा पुल निर्माण

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने पूर्वी खण्डमा हालसम्म २९ वटा पुल निर्माण सम्पन्न भएका छन्। परियोजनाका सूचना अधिकारी शिव खनालका अनुसार गैँडाकोटदेखि दाउन्नेसम्मको खण्डमा निर्माण गरिनुपर्ने ३४ मध्ये २९ वटा पुल तयार भइसकेका हुन्।

२५ मिटर लम्बाइसम्मका २२ वटा साना पुलहरूको काम पूरा भइसकेको छ भने बाँकी रहेका पाँच पुलमध्ये दुई लामो पुल जय श्री र बेल्डियामा ढलानको काम बाँकी रहेको जनाइएको छ। ती पुलमा केही दिनमै ढलान गरिनेछ।

साथै, २०० मिटरभन्दा लामा तीनवटा मुख्य पुल — गिरुवारी खोला, अरुणखोला र विनयी खोलाको पुल निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ। विनयी खोलामा पुरानो पुल भाँचिएको कारण अहिले सवारी साधन डाइभर्सनबाट सञ्चालनमा छन्। उक्त स्थानमा नयाँ पुल निर्माणलाई उच्च प्राथमिकता दिइएको छ।

“विनयी खोलाको पुलको काम ढिलोमा जेठको पहिलो हप्तासम्म सम्पन्न गरी सवारी चलाउने तयारी गरिएको छ,” सूचना अधिकारी खनालले जानकारी दिए।

चोरमारा क्षेत्रका गिरुवारी र अरुणखोलाका पुलबाहेक बाँकी सबै पुल यो आर्थिक वर्षभित्र सम्पन्न गरिने लक्ष्य रहेको छ।

नारायणगढ–बुटवल सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले एसियाली विकास बैंकको सहयोगमा २०७५ माघ २४ गतेदेखि थालेको हो। म्याद पटक–पटक थप गर्दै अहिले तेस्रोपटक २०८२ साउन ८ गतेसम्म कायम गरिएको छ, तर हालसम्मको प्रगतिलाई हेर्दा सो म्यादभित्र पनि काम सकिने सम्भावना न्यून देखिएको छ।

सडकको कुल लम्बाइ ११३ किलोमिटरमध्ये ७० किलोमिटर चार लेन हुनेछ भने २९ किलोमिटरमा दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन रहनेछ। दाउन्ने क्षेत्रमा भने १४ किलोमिटर सडक तीन लेनको हुनेछ।