

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा करिब ३५ मिनेट एकान्त वार्ता भएको छ।
बैंककस्थित उच्च सरकारी स्रोतका अनुसार शुक्रबार मोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा दुवै देशका कुनै पनि अधिकारी सहभागी थिएनन्। सेप्टेम्बरमा न्युयोर्कमा भएको भेटपछि बिमस्टेक सम्मेलनको अवसर पारेर दुई नेताबीच भएको यो छलफलमा दुईपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ।
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई आगामी जेठमा आयोजना हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा पनि दिएका छन्। मोदीले निमन्त्रणाका लागि धन्यवाद दिँदै काठमाडौं आउने प्रयास गर्ने बताएका छन्।
भेटवार्ताको विस्तृत विवरण सार्वजनिक नभए पनि दुबै देशका विदेशमन्त्रीहरू बैंककमै हुँदा पनि वार्तामा सहभागी गराइएको थिएन। वार्ता सकिएपछि प्रधानमन्त्री ओली आफू बसेको होटलमा फर्किएका थिए।