

काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहले विद्रोहमार्फत सत्ता कब्जाको प्रयास गरेकाले तीनकुने घटना भएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले शाहले राप्रपामार्फत शान्तिपूर्ण संवैधानिक बाटोबाट सत्ता प्राप्ति सम्भव नदेखेपछि विद्रोहको बाटो रोजेको आरोप लगाए।
सांसद पन्तले भने, “राजेन्द्र लिङ्देन र बुद्धिमान तामाङहरूले चुनाव जितेर दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने क्षमतामा पुगेको अवस्थामा आफू त्यो बेला रहन्न भन्ने बुझेर पूर्वराजाले विद्रोह गर्ने बाटो रोजेका हुन्।”
उनका अनुसार तीनकुने घटनाले पूर्वराजा संवैधानिक प्रक्रियामा होइन, सशक्त आन्दोलनमार्फत सत्तामा फर्किने योजनामा रहेको संकेत गरेको छ।