‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा दिगो विकास लक्ष्यसँग मेल खान्छ: प्रधानमन्त्री ओली

 ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा दिगो विकास लक्ष्यसँग मेल खान्छ: प्रधानमन्त्री ओली

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक शिखर सम्मेलनका मूल उद्देश्य र कार्यक्रमहरू नेपालको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ तथा संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (SDG) सँग गहिरो रूपमा प्रतिध्वनित हुने बताएका छन्।

थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनका आधारमा क्षेत्रीय सहकार्यलाई पुनर्जीवित गर्न महत्वपूर्ण अवसर दिएको बताए।

“हामीले क्षेत्रीय सहयोगलाई पुनर्जीवित गर्दै जनताको समृद्धि र कल्याणमा केन्द्रित हुनु आवश्यक छ,” प्रधानमन्त्री ओलीले भने। उनले स्रोत र सम्भावनाको अधिकतम उपयोगका लागि एकीकृत प्रयासको खाँचो औंल्याउँदै, विशेष आवश्यकता भएका सदस्य राष्ट्रहरूलाई प्राथमिकताका साथ सहयोग गर्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनलाई सम्पूर्ण मानवजातिको अस्तित्वमा खतरा भएको उल्लेख गर्दै, हिमालय क्षेत्रको महत्व र त्यसले सामना गरिरहेको असमान असरबारे चिन्ता व्यक्त गरे। “हाम्रो न्यून कार्बन उत्सर्जनका बाबजुद हिमालहरूले असमान आक्रमण सहनु परेको छ,” उनले भने।

यसै सन्दर्भमा, उनले हिमाल–महासागर सम्बन्ध उजागर गर्न नेपालले आगामी मे महिनामा ‘सगरमाथा संवाद’को पहिलो संस्करण आयोजना गर्न लागेको जानकारी पनि दिए।

बिम्स्टेकले दक्षिण एशिया र दक्षिणपूर्वी एशियाबीचको सहकार्यलाई मजबुत पार्ने प्लेटफर्म भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले साझा र एकीकृत प्रयासमा हातेमालो गर्न सबै सदस्य राष्ट्रलाई आग्रह गरे।

शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गरिएको छ भने थाइल्याण्ड, बङ्गलादेश, भुटान, भारत, म्यान्मार र श्रीलङ्काका प्रधानमन्त्रीसहित उच्चस्तरीय प्रतिनिधिमण्डलका नेताहरूले सम्बोधन गरेका छन्।