म्यानमार भूकम्पमा ज्यान गुमाउने २,८८६ पुगे, ३७३ अझै बेपत्ता

म्यानमार भूकम्पमा ज्यान गुमाउने २,८८६ पुगे, ३७३ अझै बेपत्ता

म्यानमार । गत साता गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २८८६ पुगेको छ । सिन्हवाका अनुसार उक्त भूकम्पमा ४६३९ जना घाइते भएका छन् भने ३७३ जना अझै बेपत्ता छन्।

प्रधानमन्त्री मिन आङ ह्लिङले भूकम्पबाट ठूलो क्षति भएको जानकारी दिँदै पनि जातीय सशस्त्र संगठनहरूको युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन्। उनले भूकम्पको विनाशकारी प्रभावबीच पनि सैन्य कारबाही जारी राख्ने बताएका छन्।

ह्लिङले केही जातीय सशस्त्र समूहहरू अझै लडाइँमा सक्रिय रहेको भन्दै सेनाले आवश्यक रक्षा कारबाही जारी राख्ने बताएका छन्। भूकम्पपछिको मानवीय सहायता पठाउने विषयमा विश्वव्यापी ध्यान केन्द्रित भइरहेका बेला म्यानमारको सेनाले देशभर प्रतिरोधी समूहहरू विरुद्ध आक्रमण जारी राखेको म्यानमार नाउको रिपोर्टमा उल्लेख गरिएको छ।

यसैबीच, अमेरिकी मानव अधिकार संस्था ह्युमन राइट्स वाचले म्यानमारको सैन्य सरकारले भूकम्प पीडितहरूका लागि मानवीय सहायतामा तत्काल, निर्बाध पहुँचको अनुमति दिनुपर्ने माग गरेको छ।

मार्च २८ मा गएको भूकम्पपछि सेनाले प्रभावित क्षेत्रमा हवाई आक्रमण जारी राख्दै इन्टरनेट पहुँच सीमित गरेको छ, जसले मानवीय सहायता कार्यलाई झन् जटिल बनाएको बताइएको छ।