

बैङ्कक । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र थाई चेम्बर अफ कमर्श एन्ड बोर्ड अफ ट्रेडबीच आपसी व्यापारिक सहकार्य तथा लगानी प्रवर्द्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ्थान् शिनावातको उपस्थितिमा बैंककमा आयोजित विशेष कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्शका अध्यक्ष सानन अंगुबोल्कुलले समझदारीपत्रमा हस्ताक्षर गरे।
यो समझदारीले नेपाल–थाइल्यान्डबीच व्यापार प्रवर्द्धन, संयुक्त उद्यम, औद्योगिक सहकार्य, व्यापारिक जानकारी आदानप्रदान तथा लगानी विस्तारलाई संरचित ढंगले अघि बढाउने लक्ष्य राखेको छ। साथै, व्यापार मेला, व्यवसायिक फोरम तथा विशेष आर्थिक कार्यक्रमहरूमा सहभागिता बढाउने, विवाद समाधान प्रणालीलाई प्रवर्द्धन गर्ने तथा प्राविधिक ज्ञान र तालिम आदानप्रदानलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
समझदारीपत्र तीन वर्षसम्म लागू हुनेछ र नेपाली तथा थाई व्यवसायीहरूबीच दीर्घकालीन सहकार्यको आधारशीला बन्ने विश्वास गरिएको छ।
महासंघका अध्यक्ष ढकालले नेपाल–थाइल्यान्डबीचको यो सम्झौताले दुई देशको व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। त्यस्तै, थाई चेम्बर अफ कमर्शका अध्यक्ष अंगुबोल्कुलले सम्झौताले दुवै मुलुकका व्यावसायिक समुदायका लागि नयाँ अवसर सिर्जना गर्ने बताए।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही चैत १९ देखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमणमा रहेको छ। भ्रमणका क्रममा ओली बिमस्टेक (बङ्गालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग) को छैटौं शिखर सम्मेलनमा समेत सहभागी हुनेछन्।