

बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राबीच आज द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।
थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री शिनावात्राले ओलीलाई गार्ड अफ अनरसहित स्वागत गरेका थिए। भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, तथा परराष्ट्र सचिव अमृतबहादुर राईलगायतको उपस्थिति थियो।
परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि नेपाल-थाइल्याण्डबीच संस्कृति तथा पर्यटन प्रवर्द्धनमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। साथै, दुई देशका गैरसरकारी र व्यावसायिक संस्थाबीच छ वटा सहमतिपत्र आदानप्रदान गर्ने कार्यक्रम तय भएको छ।
सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा आयोजित दिवाभोजमा सहभागी हुनेछन्। साथै, ओलीले आजै थाइ नरेश महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
