लुटपाट रोक्न बहादुरी देखाउने सुरक्षा गार्ड दुरप्रसाद पराजुली सम्मानित

लुटपाट रोक्न बहादुरी देखाउने सुरक्षा गार्ड दुरप्रसाद पराजुली सम्मानित

काठमाडौं । राजावादीको हिंसात्मक आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट, कोटेश्वरमा भएको लुटपाट नियन्त्रणमा बहादुरी देखाएका सुरक्षा गार्ड दुरप्रसाद पराजुली पुरस्कृत भएका छन्।

भाटभटेनी सुपरमार्केटले आज एक विशेष कार्यक्रममार्फत पराजुलीलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित पाँच ग्रेड बढुवा गरेर सम्मान गरेको हो। सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पराजुलीको साहसिक कार्यको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरेका हुन्।

चैत १५ गते राजावादीहरूको हिंसात्मक प्रदर्शनका क्रममा भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट हुँदा झन्डै ८० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो। लुटपाट रोक्न सुरक्षा गार्ड पराजुलीले लाठी प्रहार गर्दै लुटेराहरुलाई बाहिर निकालेका थिए।

साहसिक कार्यका लागि पराजुलीलाई पुरस्कृत गर्दै सुपरमार्केट व्यवस्थापनले सुरक्षाकर्मीको भूमिकालाई सम्मानजनक बनाउन आवश्यक पहल गरिने बताएको छ।