

काठमाडौं । सरकारले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन नागरिकहरूलाई आग्रह गरेको छ। मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अराजक गतिविधिमा संलग्न नहुन अपिल गरेका हुन्।
“तीनकुने घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ,” उनले भने, “साथै, आम नागरिकलाई यस्ता अराजक गतिविधिमा नफस्न नेपाल सरकारले हार्दिक अनुरोध गर्दछ।”
घटनामा घाइते भएकाहरूको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक व्यवस्था गर्न जिम्मेवारी दिइएको मन्त्री गुरुङले बताए।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो। घटनामा निजी तथा सरकारी सम्पत्तिमा तोडफोड र आगजनीसमेत भएको थियो।