प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान, २३ चैतमा स्वदेश फर्किने

प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान, २३ चैतमा स्वदेश फर्किने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्डको बैंककतर्फ प्रस्थान गरेका छन्। उनले थाइल्यान्डको औपचारिक भ्रमणका साथै बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिनेछन्।

थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको निमन्त्रणामा प्रधानमन्त्री ओलीको भ्रमण सुरु भएको हो।

भ्रमणका क्रममा, प्रधानमन्त्री ओली र थाइल्यान्डका समकक्षी सिनावात बीच द्विपक्षीय वार्ता हुनेछ, जसमा पर्यटन र संस्कृतिका सन्दर्भमा समझदारीपत्रमा हस्ताक्षर हुनेछन्। वार्तापछि संयुक्त प्रेस ब्रिफिङ र थाइल्यान्डका नरेशसँग भेटका कार्यक्रमहरू तय छन्।

चैत २१ गते, प्रधानमन्त्री ओली थाइल्यान्डका प्रतिष्ठित व्यवसायीसँग छलफल गर्नेछन् र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको कार्यक्रममा सम्बोधन गर्नेछन्। त्यसपछि, बिमस्टेक शिखर सम्मेलनका नेताहरूसँग रात्रिभोजमा सहभागी हुनेछन्।

चैत २२ गते, शिखर सम्मेलनका कार्यक्रम र साइडलाइन वार्ताका साथै मेरिटाइम ट्रान्सपोर्ट कोअपरेसन अग्रिमेन्टमा हस्ताक्षर हुनेछ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, र अन्य उच्च अधिकारीहरू सामेल छन्। प्रधानमन्त्री ओलीको भ्रमण टोली चैत २३ गते स्वदेश फर्किनेछ।