

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले घिसिङलाई बाँकी कार्यकाल पूरा गर्न दिनुपर्नेमा सरकारले हटाएर ठूलो गल्ती गरेको उल्लेख गरे।
‘कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्थ्यो। हामी पनि सत्तारूढ पक्षबाटै भनिरहेका छौँ। सरकारले हटाएर गल्ती गरेको छ, हामीले भनेका छौँ,’ उनले भने।
शर्माले अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनु उचित नभएको पनि बताए।
‘यो विषय अदालतमा पुगेको छ भने प्रतिपक्षले यसबारे समय माग्नुको औचित्य के? सभामुखले समय दिनु किन आवश्यक पर्यो? प्रधानमन्त्रीले अदालतमा छलफल भइरहेको विषयमा जवाफ दिनुभयो किन?’ उनले प्रश्न गरे।
फरक प्रसंगमा बोल्दै शर्माले तीनकुने घटनामा भएको धनजनको क्षतिप्रति सबै पक्ष चिन्तित भए पनि निर्मल निवास मौन रहेको टिप्पणी गरे।