भारत प्रस्थान गर्नुअघि अध्यक्ष दाहालले भने –‘विकासका लागि सहयोगी वातावरण बनाउन भारत भ्रमण

भारत प्रस्थान गर्नुअघि अध्यक्ष दाहालले भने –‘विकासका लागि सहयोगी वातावरण बनाउन भारत भ्रमण

काठमाडौँ, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल चारदिने भ्रमणका लागि आज अपराह्न नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ कार्यान्वयनको वातावरण निर्माण गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको बताउनुभयो ।

अध्यक्ष दाहालले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत भ्रमण भएको बताउनु भएको छ । भ्रमणको कुनै राजनीतिक एजेण्डा नभएको बताउदै दाहालले विकासको एजेण्डा तथा नेपाल र भारतबीच द्विपक्षीय सहमति, समझदारी र विगतमा भारत सरकारले गरेका थुप्रै प्रतिबद्धताको स्मरण गराउने बताउनुभयो । नेपालको संसद्मा सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्रीले गर्नुभएको सहयोगको प्रतिबद्धता एवं भूकम्पपछिको पुनःनिर्माणका लागि नेपाललाई गर्ने सहयोगसम्बन्धी विषय पनि भ्रमणका क्रममा छलफल गरिने उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले पछिल्लो चरणमा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमति कार्यान्वयनका लागि सकारात्मक वातावरण बनाउन भ्रमणले योगदान गर्ने बताउनुभयो । ‘समृद्ध नेपाल र सुखी नेपाल’को राष्ट्रिय नारालाई सार्थक बनाउन भारत सरकार एवं भारतीय बुद्धिजीविसँग छलफल गरेर दुई देशको सम्बन्धलाई अझ सुदृढ गर्न भ्रमण केन्द्रित हुने बताउनुभयो ।

अध्यक्ष दाहालले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायत राजनीतिक नेतृत्वसँग आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा छलफल गर्नुहुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । त्यस्तै उहाँले भारतका बुद्धिजीवी, उद्योगी, व्यवसायी तथा पत्रकारसँग पनि छलफल गर्नुहुनेछ । उहाँ यही भदौ २४ गते स्वदेश फर्कनुहुनेछ ।