

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। सोमबार बिहान ११ बजेका लागि संसद् बैठक बोलाइएको छ। बैठकको प्रारम्भमै प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाई हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको विषयमा प्रधानमन्त्रीको स्पष्ट जवाफ माग्दै लगातार संसद् अवरोध गर्दै आएका छन्।
प्रधानमन्त्री ओलीले पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि सम्बोधन गर्नेछन्। साथै, आजको बैठकमा पाँचवटा महत्त्वपूर्ण प्रतिस्थापन विधेयक छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।